२०८३, २३ आश्विन शुक्रबार
×

बेलायतमा कोरोनाबाट १ सयभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु

1472 Shares

लन्डन । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायतमा अहिलेसम्म १ सय जनाभन्दा बढी स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) र सोसल केयरमा कार्यरत ती स्वास्थ्यकर्मीहरुको सेवाकै क्रममा संक्रमण भएर मृत्यु भएको हो ।

मृतक स्वास्थ्यकर्मीमध्ये ४८ जना पुरुष र ५२ जना महिला छन् । उनीहरुमा अधिकांश आप्रवासी मूलका छन् ।

तर, बीबीसीले भने हालसम्म ज्यान गुमाउने एनएचएस र केयर वर्करहरुको संख्या १ सय १४ भन्दा पनि बढी हुन सक्ने जनाएको छ ।

यसैबीच, कोरोना भाइरसबाट ज्यान गुमाउने स्वास्थ्यकर्मीहरुको सम्झनामा मंगलबार बिहान ११ बजे बेलायतभर एक मिनेट मौनधारण गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सन, अर्थमन्त्री ऋषी सुनाक लगायत पनि उक्त अवसरमा सहभागी भएर मृतक स्वास्थ्यकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमबार मात्रै कोरोना संक्रमणबाट मृत्यु हुने स्वास्थ्यकर्मीका परिवारलाई ६० हजार पाउण्डका दरले आर्थिक सहायता दिने घोषणा गरेको थियो । सरकारले ल्याएको यो सहायता प्याकेजको विपक्षी लेबर पार्टी, कर्मचारी युनियनहरु लगायतले स्वागत गरेका छन् ।

तर ‘फ्रन्टलाइन’ मा खटिएका स्वास्थ्यकर्मीहरुको लागि आवश्यक ‘पीपीई’ को पर्याप्त व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरिएको छ ।

हालै कोरोना संक्रमणबाट ज्यान गुमाएका एक डाक्टर अब्दुल माबुद चौधरीका छोराले पनि ‘पीपीई’ अभावकै कारण आफ्नो पिताले ज्यान गुमाएको भन्दै सरकारलाई क्षमायाचना गर्न माग गरेको खबरलाई आज बेलायती मिडियाहरुले प्रमुख स्थान दिएका छन् ।

प्रतिक्रिया