
कठमाण्डौं । विश्वमा कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा कोरोना संक्रमित सबै व्यक्ति उपचार पछि घर फर्किएका छन् ।
योसंगै वुहानका अस्पतालहरूमा अब कोही पनि कोरोनाका विरामी नभएको अधिकारीहरुले जनाएका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फङले वुहानले कोरोनाविरूद्धको लडाईंमा सफलता पाउनुमा स्वास्थ्यकर्मी तथा अन्य सेवामा खटिने चिनियाँहरूको कडा परिश्रम नै महत्वपूर्ण रहेको बताएका छन् ।
गत वर्ष डिसेम्बरको अन्त्यमा पहिलो पटक वुहानमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।
करिब ५ करोड जनसंख्या रहेको हुवेई प्रान्तमा कोरोनाका ६८ हजार १ सय २८ संक्रमित मध्ये वुहानमा ५० हजार ३ सय ३३ जना छन् ।
वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ छ । चीनमा ७७ हजार ३९४ संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।
वुहानमा दुई महिना पछि गत अप्रिल ८ मा मात्र लकडाउन हटाइएको थियो । तर जनजीवन भने अझै सामान्य बनेको छैन ।
यता चीनमा जनतामा नयाँ नियमहरूको घोषणा गरेको छ । खोक्दा,थुक्दा मुख छोप्नुपर्ने,सफा लुगा लगाउनु पर्ने, सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइनेलगायतका नियम लागु गरिएको हो ।
नियम उल्लंघन गर्नेलाई कडा कारवाहीको व्यवस्था समेत गरिएको छ ।