२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

कोरोनासँग परिवारकै जम्काभेट ! यसरी जिते कोरोनालाई

2370 Shares

ब्यक्तिगत दुःख सुखभन्दा पनि सात समुन्द्रपारि संसार कै सम्बृद्ध भनिएको देश बेलायत जहाँ कोरोनासँगको जम्काभेटपश्चात जिजीविषालाई जीवित राख्न कति कठिन भयो भन्ने यो अनुभव । कोरोनासंग लडिरहेका र लडनुपर्ने अवस्थामा रहेकाहरुलाई कसरी लडियो भन्ने बारेमा थप जानकारी भयो । कोरोनासँग लड्न सहयोग पुग्यो भने आफुलाई अलिकति भएपनि सन्तुष्टि मिल्नेछ भन्ने विस्वास लिएको छु ।
सन्दर्भलाई सुरुदेखि नै जोड़न पाए अहिलेसम्मको जम्काभेट र विजयबीचको त्रासदी प्रस्ट्याउन सजिलो हुनेछ । सर्वप्रथम कोरोनाको प्रकोपको शुरुआत देखिने गरी बेलायतमा सुरुभयो । सरकारी नीति अनुसार अत्यन्तै गाह्रो अवस्थामा मात्र एनएचएसको १११ मा सम्पर्क गर्न सकिने र जीवन नै जोखिममा पर्न जाने सम्भावनामा मात्र इमर्जेन्सी सर्भिस ९९९ लाई खबर गर्न सकिने स्वास्थ्य गाईडलाइन छ । डाक्टर कहाँ जान नसकिने भन्नासाथ डार्टफोर्ड नेपाली समाजको अध्यक्षको हैसियतमा तत्काल कार्यसमितिको बैठक बोलाएर पर्न सकने सम्भावित असर र जरूरतको बारेमा साथीहरुलाई अवगत गराए । सम्भवत टिओआरसहितको कोरोनासंग जुध्ने पहिलो औपचारिक प्रयासस्वरुप हामीले स्वयंसेवक टिम र स्वस्थ्य टीमको रुपमा दुईवटा औपचारिक टिम सहितको प्रारूप तय गरेका थियौं । एकातिर स्वयंसेवक टिमले समन्वयात्मक रुपमा लजिस्टिक सपोर्ट गर्दै रह्यो भने अर्कोतिर घरमै आइसोलेसन बसेदेखि अस्पताल जानुपर्ने अवस्था बिचको अत्यन्तै सम्वेदनशील अवस्थामा स्वास्थ्य टिमले कन्सलट्यान्ट डाक्टरहरुको सुझावसहितको सहयोग गरिरह्यो । हाम्रो यो अप्रोच धरै समुदायलाई मन परेर यस्तै गरिरहनु भएको जस्तो लाग्छ । बेलायतस्थित नेपाली राजदुतावास, काउन्सिल तथा गैरआवासीय नेपाली संघ युकेका साथीहरुबाट पनि उत्साहपूर्ण प्रतिकृया आइरह्यो । हामीले क्षमताले भ्याए सम्म सहयोग जारी राख्यौँ ।

यसैबीच, मलाई निक्कै कडा खोकीले समायो । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा मैले केही नढाँटिकन हाम्रो सहयोगी टिममा अपडेट गर्न थालेँ । धेरै साथीहरुले मलाई स्वास्थ्य लाभको कामना र प्रत्येक ६ घण्टामा सिटामोल लिन सुझाव दिनु भयो । परिवारको सल्लाह, आफ्नो ज्ञान, साथीहरुको सल्लाह र एनएचएसको सल्लाह अनुसार काम गर्दै गए । तर ६ अप्रिल दिउँसो अत्यन्तै गाह्रो महशुस भयो । श्वासप्रश्वास लिन मुस्किल पर्याे, यो कुरा छोरा जेनिसले एकदम नै नोटिसमा लिएको रहेछ र रोशू (श्रीमती)ले ९९९ कल गर्न भनेपछि मलाई त कुरा गर्न गाह्रो भैरहेकोमा जेनिसले नै कुरा गरे । छोराले फोन राखेको १५ मिनेटमै एम्बुलेन्स घरमा आइपुग्यो । त्यो बेला सायद अलि ढिला भएको भए मेरो स्वास्थ्य अवस्थाका बारेमा भन्न सक्दिन थिएँ । मलाई तत्काल ड्यारेन भ्याली अस्पताल डार्टफोड इमरजेन्सीमा पुर्याइयो । चेकजाँच गर्दा कोरोना पोजेटिभ देखियो ।

यही समय थियो मेरो कोरोनासँगको जुझाइ र मृत्युसँगको करिब साक्षात्कार ! शरीरमा अक्सिजनको कमी हुन थालेको र लंग्समा इन्फेक्शन देखिएको हुँदा एन्टिबायोटिक लिने र घरमै आराम गर्ने सलाह बमोजिम अस्पतालबाट भोलिपल्ट बेलुकी घर आए । घर त आए तर पनि ज्वरो र खोकी निको भएको होइन, नेपालबाट आफन्तहरु बुवाआमालाई धेरै ढाँट्न सकिएन । हाम्रो संयोजक आशा फेराली बैनीलाई यथार्थ बताइदिनु अनुरोध गरेँ । आशा बैनीले बुवाआमालाई मेरो स्वास्थ्य अवस्थाका बारेमा विस्तृतमा बुझाएपछि वहाँहरु पनि आत्तिन छाड्नु भयो । त्यसपछि मैले धेरै आनन्द महशुस गरेँ । तैपनि निरन्तरता परिवारसँग सम्पर्कमा रहेँ । स्वास्थ्य टिमको साथीहरुसँग नियमित सम्पर्कमा नै थिए ।

यता साथीहरुबाट सोधखोज हुनथाल्यो यत्तिकैमा श्रीमती रोशुको स्वास्थ्यमा नकारात्मक असरहरु देखापर्न थाल्यो बाबु जेनिसलाई पनि ज्वरो देखियो । घरका सबै बिमारी भए । परिवारमा श्रीमती र छोरा जेनिसलाई पनि कोरोना देखियो । हामी छुट्टाछुट्टै कोठामा आइसोलेसनमा बस्न थाल्यौँ । परिवारको सदस्यबीच भेटघाट गर्न नसक्ने अवस्थामा हामी पुग्यौं । यस्तो बेला हाम्रो स्वयंसेवक टिम र स्वस्थ्य टिमको अमूल्य योगदानको जति प्रसंशा गरेपनि कमै हुन्छ अहिले पनि रोशू सिटामॉल लिईरहेकी छिन् । अब श्रीमती रोशुको स्वास्थ्यमा सुधार भइरहेको छ । छोरा जेनिसले चाहिँले कोरोना माथि जित हासिल गरिसकेको छ । म लड्दै छु । त्यो कोरोनालाई म पछारेर छाड्छु भन्ने हिम्मत मैले लिएको छु । यो कोरोना विरुद्धको लडाईमा मेरो अनुभवलाई राख्दा हाम्रो समुदायलाई ठूलो सहयोग हुने आशा मैले लिएको छु ।
कोरोना सँगको युद्धमा जित्नका लागि सहयोगी भएका केही महत्वपूर्ण बुँदा सेयर गर्न चाहन्छु ।
१. आत्मविश्वासः
यो गाह्रो कुरा हो । तर मैले विमारीको अवस्था भोगिसकेका साथीहरुको लड़ाइलाई नजिकबाट हेरिरहेको थिए । विशेषतः विनोद न्यौपाने, माधव पराजुली, शेखर वाग्ले, अर्जुन कटुवाल र भर्खरै गोरख कार्की लगायतको कोरोना विरुद्धको लड़ाइले मलाई सधै आत्मबल प्रदान गर्यो । अर्को कुरा, समुदायको नेतृत्वमा रहेर आउन सक्ने संभावित खतरासँग जुध्न आफैँ तैयार भएकाले मलाई हार्ने सुविधा थिएन । त्यही हिम्मत र विश्वासले कोरोनासँग म लडिरहे जसले लड्न पनि सजिलो भयो । यसरी नै आदरणीय बेलायतस्थित महामहिम राजदूत दुर्गावहादुर सुवेदी दाइ जसले प्रत्येक दिन सन्देश वा फोनमार्फत् जानकारी लिने र आत्मबल बढाउन प्रेरित गरिरहनु भयो । म वहाँप्रति हार्दिक नमन भन्न चाहन्छु ।
२. स्वास्थ्य टिमको सुझाव अक्षरश पालन :
कुनबेला ९९९ डायल गर्ने भन्ने अति संवेदनशील समय थाहा हुन नसक्दा ज्यान जान सक्ने अनुभव मैले गरेँ । विशेषतः आइसोलेशनको स्पेशल वार्डमा कार्यरत हाम्रा स्वस्थ्य टिमका साथीहरु तथा कन्सलट्यान्ट डाक्टरहरु, स्वास्थ्य संयोजक सुनिता थापा गौतम र डा. लोहनीज्यूको अमूल्य सुझावलाई मैले अक्षरशः पालना गरेँ । वहाँहरुका ती सल्लाह मेरो लागि अति नै महत्वपूर्ण रहे । वहाँहरुले पनि काममा हुँदा वा घरमा रहँदा कुनै पनि समय झर्काे नमानी सुझाव दिनु भयो अनि मैले पुनःजन्म प्राप्त गर्न सफल भएको छु ।
३. अनन्य मित्रहरुको निर्विकल्प सहयोग :
हिजोसम्म पनि हामीले मित्रहरुको चुल्हाको खानेकुरा खाइरह्यौँ । कहाँ पाक्यो, कसरी पाक्यो ? हामीलाई थाहा भएन । त्यो आत्मियता र मित्रता मैले डार्टफोर्डमा पाएँ । हाम्रो परिवारलाई दुखका बेला खाना खुवाएर सहयोग गर्ने डिएनसी स्वयमसेवी टिमका आशा, भरत, ध्रुव, दीपा, अमृता भाउजु, रेनू भाउजु, शर्मिला बैनी, शुनिल न्यौपानेप्रति आभारी छु । त्यस्तै, लजिस्टिक टिममा रहेर सहयोग गर्नुहुने दीपक सर , डा. तेजेन, भरत, धनजी, शीतल बैनी, पवनज्योति र राजन खकुरेलजीको जति प्रसंशा पनि कमै हुन्छ ।
४. अपनत्व :
हामीलाई चाँडै ठीक गराउने अर्को औषधि चैँ आफन्त तथा साथीहरुको माया प्रार्थना स्नेह नै हो । धेरैजनाले हामीलाई सोधी खोजी गर्नुभयो कि हामीलाई अलिकति पनि एक्लो महसुस गर्न परेन । यतिबेला हामीले बिमारीको बारेमा चिन्ता गर्नुेभन्दा पनि फोनमा कुरा गर्दै, असल कुरा सोच्दासोच्दै धेरै जाति भईसकेका छौँ । नेपाल तथा विश्वभरका आफन्त र प्रियजनहरुको हौसला, माया, प्रेम जस्तो मीठो औषधी केही हुन्न रहेनछ । त्यो हामीलाई विरामी परेका दिन देखि नै पायौँ ।
अन्तमा : एउटा अनुरोध गर्न चाहन्छु । कोरोनाको शंका लागेमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा नजिक साथी वा स्वयंमसेवी टोलीसँग खुलेर कुरा गर्नुहोस । मिडियामा जाने वा नजाने त्यो आ- आफ्नै अवस्था हुन्छ । मेरो विनम्र अनुरोध छ । स्वाथ्य अवस्था कृपया सेयर गर्नुहोस । यो नयाँ भाइरस हो सबैले अनुसन्धान गरिरहेका छन् । यो भाइरसको उपचार गर्न औषधी पत्ता लागेको छैन । सकारात्मक सोच नै यसको उत्तम औषधी हो । जीवन अनमोल छ अलिकति पनि चान्स नलिनुस् । डार्टफोर्डको कुरा गर्दा हाम्रा स्वास्थ्य टिममा स्वास्थ्य क्षेत्रमै काम गरेका योग्य साथीहरु हुनुहुन्छ । वहाँहरुलाई गम्भीरतापूर्वक सुन्नुहोस, अफ्ट्यारो पर्दा त हो नि हामीलाई सबै चाहिने । अरू बेला त सबैले आफ्नै तरीकाले जीवन चलाएकै छन् । समुदाय वा समाजमा हामी बाँधिएकै अप्ठ्यारो बेलामा एक आपसमा सहयोग लिन र दिन हो । सबैलाई पुनः एकपल्ट भित्री हृदयदेखि नै हार्दिक आभार तथा नमन ब्यक्त गर्न चाहन्छौँ ।

https://www.wenepali.com/

प्रतिक्रिया