२०८१, १८ बैशाख मंगलवार
×

ट्रेन्डिङ

शुक्रबार राति लाग्नेछ चार घन्टा चन्द्रग्रहण

6107 Shares

पुस २५ गते शुक्रबार राति  ४ घन्टा बढी चन्द्रग्रहण लाग्नेछ।

राति १० बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ। यो ग्रहण सन् २०२०को पहिलो चन्द्रग्रहण हुनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

‘सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ’ अध्यक्ष भट्टराईले भने, ‘तर यो पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नाङ्गो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न।’

के हो पेनम्ब्रल चन्द्रग्रहण ?
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो।
यस्तो छाँया दुई प्रकारको हुन्छ, सघन र बिरल।

यदि चन्द्रमामा पृथ्वीको सघन छाँया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसक्ने हुनाले पात्रोमा उल्लेख गरिएको छैन। पात्रोमा प्रायजसो नाङ्गो आँखाले देख्न सकिने ग्रहण मात्रै उल्लेख गरिएको भट्टराईले बताए।

वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण रहने उनले बताए। पेनम्ब्रल ग्रहणलाई यसअघि नेपालीकरण गर्न खोजिए पनि चलनचल्तीमा आएको पाइँदैन।

एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘बिरल छाँयाजनिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो। तर त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो।

प्रतिक्रिया