
काठमाडौँ। विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेको हो। यस्तै ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको देखाएको छ।
विप्रेषण रकमको २८.० प्रतिशत भने बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ। उत्पादनमूलक क्षेत्रमा रकम खर्च नहुँदा विदेशमा कमाएको रकम जताबाट आयो उतै जाने अवस्था देखिएको हो।
वैदेशिक रोजगारीमा गएका कामदारमध्ये ९०.९ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट विप्रेषण पठाउने गरेका छन्। अध्ययनअनुसार ५.९ प्रतिशतले हुण्डीमार्फत र एक प्रतिशतले साथीभाइ,आफन्त तथा परिवारमार्फत विप्रेषण पठाउने गरेका छन्। यसबाहेक २.२ प्रतिशतले भने औपचारिक तथा अनौपचारिक दुवै माध्यमको उपयोग गर्ने गरेको पाइएको छ।
विप्रेषणबाट प्राप्त भएको रकममध्ये १८.८ प्रतिशतको घरखर्चको स्रोत विप्रेषण आयमात्र रहेको छ। यस्तै ८१.२ प्रतिशतले घरायसी खर्चका लागि विप्रेषण आयको अतिरिक्त अन्य घरायसी स्रोतसमेत उपयोग गरेको पाइएको छ।
विप्रेषणबाट प्राप्त रकम बचत गर्ने घरपरिवारमध्ये ४८.८ प्रतिशतले बचत गर्नुको मुख्य उद्देश्य घरजग्गा खरिद गर्नु रहेको पाइएको छ।
यस्तै ३६.६ प्रतिशतले बचत गर्नुको उद्देश्य घर मर्मत गर्नु देखिएको छ। यसबाहेक ३४.३ प्रतिशतले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा खर्च गरेका छन्। उक्त रकममध्ये १२.२ प्रतिशतले दैनिक उपभोग र सामाजिक कार्यमा खर्च गरेका छन्।
यसैगरी १५ प्रतिशतले ऋण लगानी गरेका छन् भने व्यापार व्यवसाय सञ्चालन गर्नेहरु ८.४ प्रतिशत रहेका छन्।
वैदेशिक रोजगारीमा गएका कामदारले वार्षिक औसतमा छपटक विप्रेषण पठाउने गरेका छन्। अध्ययनअनुसार वार्षिक औसत रु पाँच लाख ३२ हजार रकम घरपरिवारमा पठाउने गरेको पाइएको छ।
विप्रेषण पठाउँदाको लागत कूल विप्रेषण आप्रवाहको १.७ प्रतिशतको हाराहारीमा रहेको पाइएको छ।
गत वैशाख मसान्तसम्म विप्रेषण आप्रवाह सात प्रतिशतले वृद्धि भएको छ। बैंकका अनुसार सो अवधिसम्म रु छ खर्ब छ अर्ब ६८ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो। खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई रु छ खर्ब ९२ अर्ब २३ करोडमा सीमित भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या छ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो।
सन् १९८० को दशकपछि आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणको प्रभावले गर्दा विकासोन्मुख मुलुकबाट विकसित मुलुकहरूमा रोजगारीका लागि जाने श्रमशक्तिमा उच्च वृद्धि हुँदै गएको हो।
कामदार निर्यात गर्ने मुलुकमा विप्रेषण आप्रवाह पनि उल्लेख्य वृद्धि हुँदै आएको छ। नेपालमा विगत दुई दशकयता वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो।
वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण आयमा वृद्धि भई हाल विप्रेषण रकम नेपाली घरपरिवारको आम्दानीको एक प्रमुख स्रोतका रूपमा स्थापित भएको छ।
त्यस्तो रकम उपभोगमा खर्च हुने तर आन्तरिक उत्पादन नबढ्ने अवस्थामा आयात बढ्न गई व्यापार घाटामा समेत चाप परेको छ । त्यस्तो आय लगानीमा परिणत भएमात्रै उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ तर विप्रेषणबाट प्राप्त हुने रकम अनुत्पादक क्षेत्रमा बढी खर्च हुने गरेको छ।
वैदेशिक रोजगारीमा ७३.१ प्रतिशत कामदार मेनपावर कम्पनीको माध्यमबाट गएका छन् भने १६.६ प्रतिशत आफन्त तथा साथीभाइका माध्यमबाट विदेश पुगेका छन्।
यस्तै १०.३ प्रतिशत कामदार अन्य माध्यमबाट जाने गरेको देखिन्छ । यसरी रोजगारीमा गएकामध्ये ३३.५ प्रतिशत कामदार अदक्ष रहेका छन्, १३.६ प्रतिशत सुरक्षा गार्ड, २.३ प्रतिशत कृषि मजदूर, १.५ प्रतिशत घरेलु कामदारका रूपमा र बाँकी अन्य पेसा तथा क्षेत्रमा कार्यरत रहेको पाइएको छ। वैदेशिक रोजगारीमा गएकामध्ये ४४.१ प्रतिशतको शैक्षिक योग्यता प्रवेशिका परीक्षासमेत उत्तीर्ण नगरेको र २.८ प्रतिशत निरक्षर रहेको पाइएको छ। रासस