एजेन्सी। अफ्रिकी देश युगाण्डा सानो छ तर यसको आफ्नै विशेषता छ । युगाण्डाको नाम लिनेबित्तिकै धेरैको दिमागमा यहाँका क्रुर तानाशाहको नाम आउँछ । उनको क्रुरताको इतिहास पढ्दा मानिसहरु आज पनि तर्सिन्छन् ।
युगाण्डाका तानाशाह ईदी अमिनलाई संसारकै सबैभन्दा क्रुर तानाशाहमध्ये गनिन्छ । अमिनले आफ्नो शासनकालमा झण्डै ६ लाख जनाको हत्या गरेका थिए । यी यति क्रुर थिए कि मान्छेको मासु पनि खान्थे । उनको फ्रिजमा कानिसका काटिएका टाउका र अन्य अंग बरामद भएका थिए । यही क्रुरताका कारण उनलाई ‘म्याड म्यान अफ अफ्रिका’ भनिन्छ ।
यी व्यक्तिले सुन्दर युवतीलाई बलात्कार गर्थे । उनलाई मासु खान पनि सुन्दर युवतीको मासु मन पथ्र्यो । मान्छे मार्नको लागि उनी कुनै हतियारको प्रयोग गर्दैनथे । उनले मार्नुपर्ने मान्छेलाई जिउँदै जमिनमा गाड्थे वा भोका गोहीलाई खुवाउँथे । १९७९ मा तान्जानिया र अमिन विरोधी युगाण्डाको विद्रोही सेनाले अमिनको शासनको अन्त्य गरेका थिए । त्यसपछि अमिन साउदी अरब गएर बस्न थाले । यहाँ २००३ मा उनको मृत्यु भयो ।
अमिन १९७१ देखि १९७९ सम्म युगाण्डाको सैन्य नेता तथा राष्ट्रपति थिए । १९४६ मा अमिन ब्रिटिस औपनिवेशिक रेजिमेन्ट किंग्स अफ्रिका राइफल्समा भर्ती भएका थिए । १९६२ मा बेलायतबाट युगाण्डा स्वतन्त्र भएपछि अमिनलाई क्याप्टेन र १९६३ मा मेजर पदमा पदोन्नती गरियो । अर्को वर्ष उनलाई सेनाको उप कमाण्डर पदमा नियुक्त गरिएको थियो ।
१९६५ मा प्रधानमन्त्री मिल्टन ओबोटे र अमिन जायरेबाट युगाण्डामा हात्तीको दाँत र सुनको तस्करीको मुद्दामा फसेका थिए । एक पूर्व कंगो नेता पेट्रिस लुलुम्बाका सहयोगी जनरल निकोलस ओेलेंगाका अनुसार यो कंगो सेनाविरुद्ध लड्ने विद्रोहीलाई हतियार खरिदको लागि अमिनले गरेको सहयोग थियो । १९६६ मा युगाण्डाको संसदले यसको जाँच गर्न माग गर्यो ।
त्यसपछि ओबोटेले त्यतिबेला राष्ट्रपति रहेका एडवर्ड मुकेसालाई हटाएर एक नयाँ संविधान जारी गर्दै आफैंलाई कार्यकारी राष्ट्रपति घोषित गरे । उनले अमिनलाई कर्नल र आर्मी कमाण्डर बनाए । अमिनले तत्कालीन राष्ट्रपति मुटेसाको घरमा आक्रमणको नेतृत्व गरेका थिए । त्यसपछि मुटेसा बेलायतमा निर्वासित जीवन बिताउन बाध्य भए ।
२५ जनवरी १९७१ मा जब ओबोटे सिंगापुरमा एक राष्ट्रमण्डल शिखर सम्मेलनमा भाग लिन गएका थिए, त्यही बेला सैन्य विद्रोह गरेर अमिनले सत्ता कब्जा गरे । अमिनका वफादार सैनिकले युगाण्डा प्रवेशको मुख्य बाटो एन्टेब्बे अन्तर्राष्ट्रिय विमानस्थललाई सिल गरे र कम्पालामा कब्जा गरे।सैनिकले ओबोटेको निवास घेरे र प्रमुख मार्ग अवरुद्ध पारे । लगत्तै अमिनले अर्को चुनाव नहुँदासम्म देशका आफ्नो नेतृत्वमा सैनिक सरकार कायम रहने घोषणा गरे । देशको प्रमुख पदमा आसीन रहेकै अवस्थामा उनले आफैंलाई फिल्ड मार्शल पदमा पदोन्नती गरे ।
अमिनको शासन मानवअधिकार दुरुपयोग, राजनीतिक दमन, जातीय उत्पीडन, गैरकानुनी हत्या, पक्षपात, भ्रष्टाचारको लागि बदनाम हुँदै गयो । युगाण्डाभित्र असन्तोष र १९७८ मा तान्जानियाको कंगोरा प्रान्त जित्नको लागि तान्जानियामाथि गरेको आक्रमण नै अमिनको पतनको कारण बने । तान्जानियामाथि आक्रमण गरेपछि तान्जानिया अमिनको सिधै दुश्मन भयो । तान्जानिया र युगाण्डाकै विद्रोही सेना मिलेर आक्रमण गरेपछि अमिन भाग्न बाध्य भए । अमिन त्यसपछि भागेर पहिले लिबिया त्यसपछि साउदी अरेबिया पुगे । उनको त्यहीँ २००३ मा मृत्यु भयो ।