
काठमाडौं :शुक्रबार देशका धेरै जसो भू-भागमा सामान्य बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शुक्रबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
शुक्रबार दिउँसो देशभरी सामान्य बदली रहि पूर्व र मध्य, पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयाङ्गसहित मध्यम वर्षा हुनेछ।
राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पश्चिमी भू-भागमा यात्रा गर्दा सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
शनिबार पनि देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। आइतबार देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।