
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताए । ‘भिडियो कन्फ्रेन्समार्फत बैठक भयो । हामीले प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना ग¥यौं । प्रधानमन्त्रीज्यूले आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको बताउनुभयो,’ सञ्चारमन्त्री बाँस्कोटाले भने ।
यसैगरी, बैठकमा मन्त्रालयको काम, समस्यालगायतका विषयमा छोटो छलफल भएको उनले बताए । मन्त्रीहरूको कुरा सुनेर प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिएको मन्त्री बाँस्कोटाले बताए ।
नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको हो । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले स्वदेश वा विदेश भ्रमणका क्रममा भए पनि ‘भिडियो कन्फ्रेन्सिङ’लगायतका सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद् बैठक गर्ने सकिने गरी नियमावली संशोधन गर्ने निर्णय यसअघिको मन्त्रिपरिषद् बैठकबाट गरेका थिए ।
यसअघिको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फ्रेन्सिङलगायतका सूचना प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय गरेको थियो ।