
काठमाण्डौ, ३१ असार । चीन सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको मुलुककै पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूल शिल्यानाश भएको १९ महिनामा निर्माण सम्पन्न हुने भएको छ ।
चीन सरकारको सहयोगमा चीनकै प्राविधिकले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको विद्यालय भवन भत्काएर नयाँ बनाउन लागिएको हो । अहिले दरबार हाइस्कूलको क्षतिग्रस्त भवन भत्काइएको छ । भवन निर्माण भएको १९ महिनामा सम्पन्न गर्ने गरी चीन सरकारले निर्माणको जिम्मा लिएको हो ।
अहिले चीन सरकारले निर्माणको कार्य सुरु गरिसकेको दरबार हाईस्कुलमा रहेको संस्कृत विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद दाहालले जानकारी दिए । भवन निर्माण नहुँदासम्म अहिले बाल्मीकी क्याम्पसमा टहरा बनाएर पठनपाठनलाई सुचारु राखिएको उनले बताए ।
जङ्गबहादुर राणाले बेलायत भ्रमणपछि राणा खानदान र भाइभारदारहरूलाई पढाउनको लागि बिक्रम सम्वत १९१० मा यो विद्यालय स्थापना गरेका थिए । २०२४ सालमा यसलाई दरबार हाइस्कूलबाट भानु मावि नामाकरण गरिएको थियो ।
चिनियाँ सरकारले भूकम्प प्रभावित ४ जिल्लाका ७ विद्यालय बनाइदिने पुननिर्माण प्राधिकरणसँग सहमति गरेको थियो । जसमा दरबार हाई स्कुल, सिन्धुपाल्चोकका २ विद्यालय, रसुवाका २ विद्यालय र दोलखाका २ विद्यालय निर्माण गर्न यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको छ ।