२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

रक्तदाताको स्वास्थ्य जाँच नै नगरी रक्तदान

1923 Shares

ललितपुर । जिल्लाका ललित व्यासले अहिलेसम्म ५९ पटक रक्तदान गरिसकेका छन् । बुवाले गरेको रक्तदानबाट प्रेरित भएर भएर व्यासकी छोरीले पनि उमेर पुग्नासाथ रक्तदान गर्न थालिन् । नेगेटिभ समूहको रगतको माग हुँदा उनले पटकपटक रगत दिइरहिन् । रक्तअल्पता हुँदासमेत उनले रक्तदान गर्न नछाडेकाले अहिले ठूलै समस्या व्यहोर्नुपरेको व्यासले बताए ।

रक्तसञ्चार सेवाको चरम लापरबाहीले देशभरका रक्तदाताको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । सरकारले दिएको एकाधिकारको दुरुपयोग गर्दै रक्तसञ्चार सेवा चरम व्यापारीकरणमा लागेको रक्तदाताको गुनासो छ । नेपालमा मानव रगतको कारोबार गर्ने रक्तसञ्चार सेवा एकाधिकार प्राप्त संस्था हो
शरीरमा रगतको निकै कमी भएपछि मात्रै छोरीलाई रक्तअल्पता भएको आफूले पत्तो पाएको व्यासको भनाइ छ । ‘पत्ता लाग्नासाथ उपचार गरेर मात्रै सुधार भयो, व्यासले भने ‘नत्र उनको अवस्था खराब भइसकेको रहेछ ।’

रक्तदाता रगत दिन सक्ने छ÷छैन भनेर जाँच नगरी रगत लिँदा रक्तदातामा परेको असरको यो एउटा उदाहरण मात्र हो । रक्तसञ्चार सेवाको चरम लापरबाहीले देशभरका रक्तदाताको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । सरकारले दिएको एकाधिकारको दुरुपयोग गर्दै रक्तसञ्चार सेवा चरम व्यापारीकरणमा लागेको रक्तदाताको गुनासो छ । नेपालमा मानव रगतको कारोबार गर्ने रक्तसञ्चार सेवा एकाधिकार प्राप्त संस्था हो । सेवामूलक रक्त सञ्चारसेवाले सेवा शुल्कको नाममा बिरामीको ढाड सेक्ने गरी शुल्क उठाइरहेको छ । त्यति मात्र नभएर ब्लड बैंकले गरेको रक्त परीक्षण पनि शंकाको घेरामा रहेको देखिएको छ ।

अरुलाई ज्यान बचाउने रक्तदाता आफ्नै ज्यान जोखिममा पर्ने घटना दोहोरिइरहेको रक्तदाता बताउँछन् । नेपालमा रक्तदाताको स्वास्थ्य जाँच नै नगरी रगत लिँदा धेरै रक्तदातामा विभिन्न किसिमका स्वास्थ्य समस्या आइरहेका छन् । रगत आवश्यक पर्ने व्यक्तिलाई रगत हाल्नुअघि जाँच गरे पनि रक्तदातासँग रगत लिनु अघि जाँच नहुने रक्तदाताको गुनासो छ । कमजोर स्वास्थ्य अवस्थामा समेत रक्तदान गर्दा रक्तदाताको स्वास्थ्य थप बिग्रिन सक्छ ।

अर्का रक्तदाता भानु रोशन राजभण्डारीले जस्तोसुकै धुलो र फोहरमा समेत रक्तदान भइरहेको बताए । कलंकीलगायत राजधानी काठमाडौंका धुलो अत्यधिक हुने स्थानमा समेत रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । फोहर स्थानमा रक्तदान हुँदा रगत लिने र दिने दुवैको स्वास्थ्यमा असर गर्छ । ‘सफा ठाउँमा रक्तदान नहुँदा एकातिर रगत दिनेको स्वास्थ्यमा असर गर्छ भने रगत लिनेले पनि सफा पाउँदैन’ उनले भने ‘रक्तदानका लागि न्यूनतम वातावरणीय सफाइको मापदण्ड हुनुपर्नेमा त्यसलाई वास्तै गरेको देखिँदैन ।

नेपालमा बिरामीलाई आवश्यक पर्दा रगतको अभाव छ । माग र रगतको आपूर्तिका बीचको खाडलका कारण वर्षेनी रगतको अभाव भइरहेको हो । धेरै वर्ष पहिलेदेखि देखिएको अभावको अवस्थामा खासै सुधार भएको छैन । रगतको अभाव पूर्ति गर्न भन्दै धेरै सरकारी, गैरसरकारी वा निजी संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गर्छन् ।

रगत संकलनका लागि रेडक्रस सोसाइटीबाट प्रतिनिधि ती स्थानमा पुग्छन् । रक्तदाताको स्वास्थ्य अवस्थाको जाँच ती स्थानमा जाँच हुँदैन । नियमित रक्तदाता भन्छन्, ‘यसले रगतको अभाव त कम गर्ला तर रक्तदाताको स्वास्थ्य अझै खराब हुन सक्छ ।’ कतिपय रक्तदाता रक्तदानपछि थप बिरामी भएका घटना धेरै छन् । स्वास्थ्य संस्थामा नै रक्तदान गर्दासमेत रक्तदाताको सामान्यसमेत स्वास्थ्य जाँच हुँदैन ।

रक्तदाताले धेरैपटक रक्तदान गरेकालाई समेत सरकारले सम्मान र सहुलियत नदिएको गुनासो गर्दै आएका छन् । व्यक्तिले आफूले यतिपटक रक्तदान गरेको भने पनि कसले कति रगत लियो र कसले कति दियो भन्ने तथ्यांक नभएको अर्का रक्तदाता भक्त भट्टराईले बताए । ‘हामीले दिएको रगत कति प्रयोग भयो भन्ने हामीले जान्न पाउनुपर्छ’ उनले भने ‘रक्तदाताको सम्मान गर्दा मात्रै नयाँ रक्तदाता थप्न सकिन्छ ।’

एकपटक रक्तदान गरेका व्यक्तिले पटकपटक गर्छन् । तर, पहिलोपटक रक्तदान गराउन गाह्रो हुन्छ । ५० पटक भन्दा बढी रक्तदान गरेकालाई आ–आफ्नो ठाउँमा रक्तदानका लागि प्रेरित गर्न लगाउनुपर्ने राजेन्द्र सुनुवार बताउँछन् ।

दुर्घटना, प्रसूति, क्यान्सरका बिरामी र शरीरमा रगतको कमी भएका बिरामीलाई रगतको बढी आवश्यकता पर्छ । विभिन्न संस्थाले नियमित र कतिपयले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्दै आएका छन् । नेपालमा अझै पनि मागअनुसारको रगत छैन । रक्तदाताले निःस्वार्थ भावनाले निःशुल्करूपमा रक्तदान गरे पनि रगत लिन चाहने व्यक्तिले निःशुल्क पाउँदैनन् । थोरै शुल्क लिँदै आएकामा पूर्णरूपमा निःशुल्क हुनुपर्नेमा रक्तदाताको माग छ ।

प्रतिक्रिया