काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका प्रभावशाली नेता एवम रसुवा (ख)बाट प्रत्यक्षबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङ कांग्रेसमा प्रवेश गरेका छन। सोमवार दिउँसो कालिकास्थानमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले तामाङलाई पार्टी प्रवेश गराएका हुन ।

कांग्रेस रसुवाका सांसद मोहन आचार्यका अनुसार तामाङसँगै आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ र नयाँ शक्तिका अन्य हजारौँ कार्यकर्तापनि कांग्रेसमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम सभापति शेरबहादुर देउवाले नेपालमा कम्युनिस्टको पालामा सम्वृद्धि नआउने दावी गरेका छन। उनले दुई तिहाइको दम्भ देखाएर अधिनायकवादको सपना नदेख्न चेतावनी दिए।
कांग्रेसका पालामा मात्र देशमा परिवर्तन भएको दावी गर्दै देउवाले कांग्रेसलेमात्र सम्वृद्धि ल्याउने समेत बताए। सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै कांग्रेसले प्रतिकार गर्ने बताए।
सरकारका क्रियाकलाप जनताको भावनाविपरीत भएको तर्क गर्दै देउवाले कांग्रेस अब टुलुटुलु हेरेर नबस्ने बताए। देशमा भ्रष्टचार बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको तथा वाइडबडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको आरोप लगाए।
सरकारले प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतामाथि खुल्लमखुल्ला हमला गरिरहेको उनको आरोप छ। उनले राणा शासन र पञ्चायतकालमा समेत यस्तो नभएको दावी गर्दै प्रतिपक्षलाई पाखा लगाएर कुनै पनि कानुन संशोधन नगर्न सरकारलाई चुनौती दिए।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रवेश गर्न जनताको लर्को लाग्ने दाबी गरे ।
सरकारप्रति कडा टिप्पणी गरेका नेता पौडेलले भने, ‘झापामा केपी ओली संलग्न तत्कालीन मालेले सुरु गरेको हिंसात्मक द्धन्दलाई प्रचण्डले बढावा दिए। अहिले दुबै नेताले नेतृत्व गरेको पार्टीले चलाएको सरकारले विप्लव पार्टीका हिंसा रोक्न प्रयास गरेन।’
कम्युनिस्टहरु हिंसा रोक्न नखोज्नु रहस्यमय भएको बताए। सरकारले विप्लवले चलाएको हिंसात्मक द्वन्द्व वेवास्ता गरिरहेका आरोपसमेत उनले लगाएका थिए। ‘यो भन्दा रहस्य अरु के हुन्छ?,’ नेता पौडेलले भने, कम्युनिस्टले मान्छेको टाउको काटेर क्रान्ति सुरु गरे। कांग्रेसले क्रान्तिको सुरुवात हलो जोतेर गरेको थियो।’
साम्यवादको सपना देख्ने मान्छेहरूले साम्यवाद नै मिथ्या रहेको महसुस गर्न लागेको उनले बताएका थिए।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सरकार संसदबाट कानुन बनाइ सरकारको बिरोध गर्नेहरुलाई नियन्त्रण गर्ने अभियानमा रहेको बताए । थापाले भने, ‘यसैका लागि संसदबाट नयाँ नयाँ कानुन बनाउन हतार गरिएको छ ।’
उनले ओली सरकार ज्ञानेन्द्र शाहको सरकार भन्दा निरंकुश बन्दै गएको थापाले बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई नै संघियता मन परेको छैन ।’ केपी ओलीकै कारण संघियता खतरामा परेको उनले बताए ।
नयाँ शक्ति कांग्रेसमा बिलय हुनु ऐतिहासिक भएको थापाले बताए ।
सोही कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसलाई कमजोर प्रतिपक्ष नठान्न सरकारलाई आग्रह गरे।
कांग्रेसमा समेत कमीकमजोरी रहेकोले सच्याउँदै जनतासँग सम्बन्ध नवीकरणका लागि नयाँ योजना लिएर जानुपर्ने समय आएको बताए। उनले देश जोगाउने जिम्मा कांग्रेसको भएको समेत बताए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले एक वर्षको अवधिमा जनताको कुनै पनि विश्वासको कार्य गर्न नसकेको बताए। जनमतको कदर गर्न पनि सरकार चुकेको उनको दावी छ।