२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

परिस्थिति देखेर दिक्क लाग्छ, आफैं खेती गर्न हिँडु जस्तो लाग्छ: दाहाल

1082 Shares
notext
Spread the love

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले युवा विदेशिएको परिस्थिति हेर्दा दिक्क लाग्ने गरेको बताएका छन्।

युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको तर आफ्नै देशमा कृषिजन्य उत्पादन वृद्धिका लागि ध्यान नदिएको उनले बताए।

समूह, सहकारी तथा निजीस्तरबाट पनि कृषिजन्य वस्तु उत्पादन गर्न सके उत्पादन बढ्न सक्ने बताउँदै उनले रोजगारीका अवसर पनि सिर्जना हुने बताए।

‘कहिलेकाहीँ त परिस्थिति हेरेर बडो दिक्क लाग्छ। सबै छाडेर म आफैं खेती गर्न हिँडौं जस्तो नि लाग्छ,’ भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले भने, ‘कृषि र शिक्षामा नाममात्रैको बजेट छ। त्यो बजेट कता जान्छ कता।’

खाडी मुलुक गएर नेपालीहरूले धेरै दुख गरेको उनले बताए।

‘बाहिर गएर गर्ने धेरै दु:खको केही प्रतिशत दु:ख आफ्नै माटोमा टेकेर त्यहाँ विविधता ल्याउन जाँगर देखाउने हो भने केही वर्षमा यो देश आत्मनिर्भर हुन्छ,’ दाहालले भने, ‘सोच परिवर्तन गरौं।’

कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुने उनले बताए।

‘ठूला कुरा त हामीले गर्दै आएको हो। सानो कुरा के हो भने उत्पादन वृद्धि गर्न विज्ञान प्रविधिको प्रयोग गर्नुपर्छ,’ दाहालले भने।

शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न राज्यले नेतृत्व लिनुपर्ने उनले बताए।

‘सुनको टुक्रा हामीसँग छ। सोचमा परिवर्तन ल्याउन जरूरी छ। जनतालाई दोष दिएर हुन्न। नेतृत्व राज्यले नै लिनुपर्छ। जनताले मेहेनत गरेकै छ, श्रम गरेकै छ,’ अध्यक्ष दाहालले भने।

उत्पादन बढाउन रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिएको भन्दै दाहालले अर्गानिक खेती गर्न किसानलाई आग्रह गरे। कृषि र शिक्षा क्षेत्रमा राज्यले अनुदान दिनुपर्ने भए पनि ध्यान नपुगेको उनले बताए।

‘कृषि र शिक्षामा अनुदान बढाउनुपर्छ। भारतले पनि पछिल्लो समय अनुदान बढाएर राम्रो गरेको छ,’ उनले भने।

प्रतिक्रिया