२०८१, २२ भाद्र शनिबार
×

ट्रेन्डिङ

एभरेस्ट होटलका मालिक लागूऔषध तस्कर

1695 Shares

काठमाण्डौं । एभरेस्ट होटलका मालिक लागूऔषध तस्करी मुद्दाबाट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई सफाइ दिएको विरुद्धमा न्यायाधीशसहितलाई कारबाहीको माग राख्दै न्यायपरिषदमा उजुरी दर्ता भएको छ । अदालतको फैसला कार्यान्वयनका लागि लारीलाई पक्राउ गरी लागूऔषधको मुद्दामाथि बहस भएको थियो । सो मुद्दामा नेपाल सरकार प्रतिवादी रहेको अवस्थामा लारीलाई अभियोग पत्रसहित काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले २०७४ माघ २८ गते थुनामा राख्ने आदेश भएकोमा २०७४ चैत २५ गते फैसला गरी सफाइ दिएकोमा असन्तुष्टि जनाउँदै न्यायाधीश र लारी दुवैलाई कडा कारबाहीको माग राख्दै २०७५ असार १२ गते परिषद्मा उजुरी दर्ता गरिएको छ ।

सुजन दाहाल नाम गरेका व्यक्तिले सो उजुरीपत्रमा न्यायाधीशले ठूलो रकम घुस खाई लारीको पक्षमा फैसला गरेको ठहर समेत गरेको छ । पत्रमा लागूऔषध जर्मनमा पठाएको, सो लागूऔषध पठाउने मुख्य भूमिका लारीको भएको, लारीकै गाडी प्रयोग भएको, दुई महिनामा नै फैसला गरी तीन करोड रुपैयाँ घुसको चलखेल भएकोलगायत उल्लेख गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित ३२ रोपनी क्षेत्रफलमा फैलिएको पाँचतारे द एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी वर्षौंदेखि नेपालमा व्यापार व्यवसाय गरेर बसेका भारतीय मूलका नागरिक हुन् । उनको पुख्र्यौली ठेगाना कलकत्ताको अलिपुर कोनार्क गार्डेन ६, बर्डवान रोड उल्लेख गरिएको छ  । उनले चलाउँदै आएको उक्त होटल काका र ठूलोबुबाका छोराछोरीबीचको विवादले एभरेष्ट होटल कसको भन्ने विवाद जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च अदालत पुगेको थियो। २०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २५० किलो चरेस जर्मनीको फ्रांकफर्ट विमानस्थलमा बरामद भएपछि लारी सो मुद्दामा तानिएका हुन् । जर्मनी उड्ने जहाजमा यात्रुहरूलाई दिइने खानासँगै लागूऔषधको ओसारपसार हुने गरेको तथ्य त्यही बेला खुलासा भएको थियो । जर्मन दूतावाससमेतको जाहेरीमा प्रहरीले अनुसन्धान गर्दा एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी पनि लागूऔषध कारोबारमा संलग्न भएको भन्दै उनीविरुद्ध प्रहरीले २०५५ सालमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

अदालतले उनको मुद्दा तामेलीमा राख्दै आएको थियो । २०६६ पुस २० मा काठमाडौं जिल्ला अदालतले उनको नाममा पक्राउ ‘वारेण्ट’ जारी गरिसकेका व्यक्ति हुन् । भूकम्प गएको एक महिनासम्म लगातार सञ्चालनमा रहेको सो होटल एकाएक बन्द गरेसँगै लारीको अवैध संलग्नता रहेको ठहर भएको थियो । मनग्य नाफा कमाएको एभरेष्ट होटल एकाएक बन्द भएपछि अहिलेसम्म सञ्चालनमा आएको छैन । भूकम्पको बहाना बनाएर बन्द गरिएको सो होटलबाटै लागूऔषधको ओसारपसार हुँदै आएका कारण बन्द भएको मजदुरहरुको भनाइ छ ।

राजधानीका अरु होटल बन्द हुँदा पनि यो होटल भने भूकम्पपछि जेठ १४ गतेसम्म सञ्चालनमा आएको थियो । वैशाख १२ मा भूकम्प गएपछि पर्यटन विभाग र हानको संयुक्त टोलीले एभरेष्ट होटलमा वैशाख २३ गते हरियो स्टिकर टाँस्न लगाएर लारीले नयाँ खेल खेलेका थिए । सन् १९८७ मा मक्बुल अहमद लारीले स्थापना गरेको एभरेष्ट होटलमा अहिले उनका भतिजा मस्कुर अहमद लारी प्रमुखनै रहेका छन् । ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो होटल कुनैबेला देशकै चर्चित ५ तारे होटलमा पर्ने गरेको थियो ।

प्रतिक्रिया