काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि पाएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि महानगरवासीले राहतको अनुभूति गर्न सकेका छैनन् ।
सर्वसाधारणले धुलोधुँवाका कारण निम्तिएका वातावरणीय समस्या, बेहाल सडक, अव्यवस्थित बसोबासका कारण सास्ती भोगिरहेका छन्।
नगरवासीका सेवा, सुविधा र विकास निर्माणको क्षेत्रमा ध्यान नदिए पनि सेवा, सुविधा र भत्ता लिने काममा भने महानगरका जनप्रतिनिधि अगाडि देखिएका छन्।
चालू आर्थिक वर्ष २०७५-०७६ का लागि १२ अर्ब ४ करोड ११ लाख ५७ हजार विनियोजन गरेको काठमाडौं महानगरपालिकाले ६ महिने अवधिमा ११ प्रतिशत मात्रै बजेट विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्न सकेको छ। तर, सेवा, सुविधा र भत्ताको नाममा भने करोडौं रकम खर्च भएको छ।

महानगरले विनियोजित बजेटबाट पुस मसान्तसम्ममा जनप्रतिनिधिका सेवा, सुविधा र भत्ताका मात्र ८ करोड ७० लाख ७६ हजार ७ सय ४१ रुपैयाँ खर्च गरेको खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।
महानगरले जनप्रतिनिधि सुविधाअन्तर्गत जनप्रतिनिधिको सुविधाका नाममा मात्र परिवहन सुविधा, टेलिफोन, उपचार खर्च पोसाक, दुर्घटना बिमा तथा खाजा खर्च शीर्षकमा ६२ लाख २१ हजार ६ सय ९ रुपैयाँ खर्च गरेको छ।
भ्रमण खर्च तथा दैनिक भत्ता खर्चबापत २४ लाख ७६ हजार ५ सय ७० रुपैयाँ ५८ पैसा खर्च गरेको छ । त्यस्तै, अन्य भत्ता शीर्षकअन्तर्गत प्रोत्साहन तथा विविध भत्ता, परिवहन भत्ता र महानगर भत्ताको नाममा ७ करोड ८३ लाख ७८ हजार ५ सय ११ रुपैयाँ ५६ पैसा खर्च भएको महानगरको तथ्यांकमा उल्लेख छ।