भरतपुर महानगरपालीकाभित्रको असन्तुष्टि भुसको आगोसरी फैलिदै गएको छ । गत स्थानीय तहको चुनावमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र गठवन्धन बनाएर तत्कालीन नेकपा एमाले विरुद्ध चुनाव लडेका थिए । देवि ज्ञवालीलाई हराउन संयुक्त उम्मेदवार बनेकी रेनु दाहाल तत्कालीन ‘नेकपा एमाले’ र ‘माओवादी केन्द्र’बीचको पार्टी एकतापछी गठबन्धनको भावनाबिपरित अघि बढेको कांग्रेसको ठहर छ ।
विशिष्ठ परिस्थितिमा दिलोज्यान दिएर गरेको सहयोग महानगर प्रमुख दाहालले बिर्सिएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले चित्त दुखाएका छन । बिगतमा आफैलाई हराउन हरपल लाग्नेहरुलाई प्रमुख दाहालले काखा र जिताउन लाग्नेहरुलाई पाखा गरिरहेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको गुनासो छ । गठबन्धन भत्किएर तत्कालीन ‘नेकपा एमाले’ एकाएक महानगरको सत्तापक्ष भएपछी प्रमुखसहितले कांग्रेसलाई एकोहोरो पेलिरहेको बोर्डमा रहेका सदस्यहरुले सुनाउने गरेका छन ।

महानगरको प्रमुख प्रतिपक्षी दलका नेता चित्रसेन अधिकारीका अनुसार नयाँ गठवन्धनपछि कर्मचारीले समेत कांग्रेसबाट निर्वाचित उप-प्रमुखसहितका जनप्रतिनिधिलाई टेर्न छाडेका छन । प्रमुख दाहाल र तत्कालीन एमालेका प्रतिनिधिले महानगरमा निशेधको राजनिती गरेको अधिकारीको आरोप छ । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितीमा बोर्ड बैठक नबसौ , स्थगित गरौं भनी कांग्रेसले गरेको आग्रहलाई बेवास्था गर्दै एकतर्फी पेलिएको अधिकारीको भनाई छ । मंगलबार महानगर नगर कार्यपालिकाको नियमित २५ औं बैठक थियो । महानगरको सभा हलमा प्रमुखसहितको बैठक चल्दै गर्दा कांग्रेसतर्फका सदस्य उप-प्रमुख पार्वती शाहको कार्यकक्षमा थिए ।
मलाई ज्यान मार्ने धम्की आयो : उप-प्रमुख शाह
महानगरको बैठक चल्दै गर्दा कांग्रेसका बोर्ड सदस्यसहित कार्यकक्षमा भेटिएकी उप-प्रमुख पार्वती शाहले आफुलाई ज्यानै मार्ने धम्की आएको सुनाईन । आफ्नो सचिवालयले प्रयोग गरिरहेको भ.म.न.पा उप-प्रमुख नाम रहेको अकाउण्टमा एक व्यक्तिले युवा संघ र अनेरास्ववियुको नाममा धम्की दिएको भन्दै शाहले प्रमाण पेश गरिन । शाहाले कार्यकक्षमा बोलेका श्रब्य दृश्य सामाग्री हामीसंग सुरक्षीत छ ।
उप-प्रमुख शाहले पेश गरेको प्रमाण यस प्रकार छ :

प्रमाण पेश गर्दा अत्यन्तै तनाबमा देखिएकी उप-प्रमुख शाहले नियोजित रुपमा आफुलाई प्रताडित गर्न खोजिएको दाबी गरिन । यसबारे प्रमुख दाहालसमु कुरो उनी नाजवाफ भएको शाहले जानकारी दिईन । प्रमुखको यस्तो व्यबहारबाट आफू आश्चर्यचकित भएको शाहको भनाई छ ।
प्रमख कार्यकारी अधिकृतको कार्यशैलीको तिव्र बिरोध
कांग्रेसका जनप्रतिनिधिले प्रमुख कार्यकरी अधिकृत नेत्रप्रसाद सुबेदीले आफ्नो हैसियत बिर्सिएको भन्दै परिवर्तन गर्न माग गरेका छन । ‘प्रमुख नहुदा उप-प्रमुख कार्यवाहक हुन्छ भन्ने विश्वव्यापी मान्यतालाई समेत प्रमुख कार्यकारी सुबेदिले खिल्ली उडाएका छन’ उप-प्रमुख शाहले भनिनस् ‘सुबेदीले मलाई तिम्रो हैसियत केही छैन,मैले मेयरलाई मात्रै मान्ने हो, मलाई तिम्रो मतलब छैन भने ।’ प्रमुख नहुदा आफुलाई औपचारिक रुपमा कहिल्यै कार्यवाहकको जिम्मेवारी नदिईएको स्मरण गर्दै शाहले थपिनस् ‘जिम्मेवारी नदिइए पनि आफै जानेर गर्न खोज्दा प्रमुख कार्यकरी झर्किए अनि अपमान समेत गरे ।‘
उप-प्रमुखलाई गरेको व्यबहारले आफुहरुको आत्मसम्मानमा ठेस पुगेको महसुस कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले गरेका छन । प्रमुख कार्यकारीको हर्कतको बारेमा टुंगो नलागी नियमित बैठकमा समेत नजाने निधोमा कांग्रेस पुगेको छ । भरतपुर महानगरमा कांग्रेसबाट उप-प्रमुख, कार्यपालिका सदस्य २ र वडा अध्यक्ष १२ जना रहेका छन । महानगरको बोर्डमा रहेका ३९ मध्य कांग्रेसका १५ सदस्य छन ।
प्रमुख रेनु दाहालले अधिकार नदिएकोबरे उप-प्रमुख शाहले यसअघि पनि पटक-पटक असन्तुष्टि जाहेर गर्ने गरेकी थिइन । चुनावताका हाल नेकपा अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ वटै पदमा महिला भएपछी मिलेर बस्छन भन्ने गरेको सम्झिदै उप-प्रमुख शाहले भनिन :’अहिले यति धेरै रडाको मच्चिदा पनि उहाँलाई कुनै मतलव छैन ।’ महानगरको सवालमा जिल्ला पार्टिले पनि उप-प्रमुखसहितको टिमलाई साथ दिदै आएको छ ।